अनुमति पाएका चार मुलुकबाट कुवेतमा कामदार उड्दै

medianewskhabar //काठमाडौं : कुवेतले नेपालसहित पाँच मुलुकबाट घरेलु कामदार लैजान उडानको अनुमति दिएको छ । श्रीलंकाले जनवरी २८ तारेखमा पहिलो उडानबाट त्यहाँ घरेलु कामदार पठाउने भएको छ । दोश्रो उडानका लागि बंगलादेश र नेपालको नाम छनोट भएको छ । तर नेपालले श्रम स्वकिृति रोकेका कारण उक्त मितिमा बंगलादेशबाट मात्रै घरेलु कामदार कुवेत जाने छन् ।

कुवेतले नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र बंगलादेशबाट नयाँ घरेलु कामदार लैजान अनुमति दिएको हो । घरेलु कामदार लैजाँदा ट्रान्जिट हुँदै जानु पर्दा समस्या भएपछि कुवेतले नेपालसहित पाँच मुलुकबाट सिधा उडानको अनुमति समेत दिएको छ ।
कुवेतमा घरेलु कामदारको माग उच्च रहेको छ । तर एक वर्षयता घरेलु कामदारको भिसा जारी गरिएको थिएन ।

कतिपयले असुरक्षित भनेपनि कुवेत नेपाली महिलाहरुको लागि आकर्षक गन्तव्यका रुपमा रहेको छ । वैधानिकरुपमा जाने गन्तव्य मुलुक नै कुवेत हो । कुवेतमा उद्योग र घरेलु कामदारका रूपमा नेपाली महिलाहरू जाने गरेका थिए । नेपाल सरकारले विगत चार वर्ष अघिदेखि नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाउँदा श्रम सम्झौता गरेर मात्र उनीहरू पठाउने बताएको थियो ।

तर अहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन । यसअघि तत्कालिन श्रम मन्त्री रामेश्वर राय यादवको कार्यकालमा यूएईमा घरेलु कामदार पठाउन प्रोटोकलमा हस्ताक्षर गर्ने र अन्य मुलुकमा श्रम सम्झौता गर्ने निर्णय भएको थियो । तर मन्त्रालयको निजामती संयन्त्रले अदक्ष महिला कामदारले रोजगारी पाउने उक्त विषयलाई अघि बढाउन इच्छा नदेखाएको सरोकारवालाहरुको दावी छ । मन्त्रालय श्रोतले उचित समयमा काम अघि बढ्ने बतायो ।

मन्त्रालयको उच्च प्रशासनिक नेतृत्वले चासो देखाएको भए हजारौं नेपाली महिला घरेलु काममा पुगीसकेको हुने थिए । तर युएईसँगको प्रोटोकल र अन्य देशसँगको श्रम सम्झौता गर्ने यसअघिको निर्णयमा ढुसी लाग्दासमेत कसैले चासो नदेखाएको एक सरोकारवालाले टिप्पणी गरे ।

कुवेतमा हाल झन्डै ७० हजार नेपाली कामदार छन् । तीमध्ये २५ हजार महिला रहेका छन् । २५ हजारमध्ये पनि २२ हजार घरेलु कामदार हुन् । नेपालबाट जान नपाएपनि भारत श्रीलङ्काजस्ता देश हुँदै अवैधरुपमा जाने क्रम अहिले पनि नरोकिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *