विदेश जानेलाई सातै प्रदेशबाट ‘क्यूआर कोड’ सहितको निशुल्क खोप प्रमाण पत्र

साउन १८ काठमाडौँ | स्वास्थ्य सेवा बिभागले विदेश जानेलाई सातै प्रदेशबाट ‘क्यूआर कोड’ सहितको खोप प्रमाण पत्र दिन निर्देशन दिएको छ । स्वास्थ्य सेवा बिभागले वैदेशिक रोजगारमा जाने युवाहरु, अध्ययनको लागि जानेहरु र उपचारको लागि विदेश जानेहरुलाई खोप लगाएको प्रमाणको आधारमा क्यूआर कोड सहितको प्रमाणीकरण जारी गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य सेवा बिभागले आइतबार सातै प्रदेश स्थित स्वास्थ्य निर्देशनालय र ७७ जिल्लाकै जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै निशुल्क कोभिड १९ को खोप प्रमाणीकरण दिन निर्देशन दिएको छ । निर्देशन अनुसार खोप लगाएको प्रमाणीकरणको लागि देशभरीका ५० शैया माथिका सम्पूर्ण सरकारी अस्पतालबाट सेवा जारी गर्न सम्बन्धित अस्पतालले २ जनासम्म फोकल पर्सन तोकेर निशुल्क प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

बिभागका अनुसार भदौ १ गतेदेखि विदेश जानेनागरिकहरुका लागि सूचना प्रमाणीकरण गराएर मात्र खोप लगाउने र सूचना प्रणालीबाट QR Code सहितको प्रमाणपत्र विध्युतिय प्रणालीबाट उपलब्ध गराउने उल्लेख छ ।

स्वास्थ्य सेवा बिभागले विदेश जानेबाहेक अन्य नागरिकहरुलाई पनि खोप लगाउँदा सूचना प्रमाणीकरण गराउने र पहिले खोप लगाएकाहरुको समेत दर्ता गर्ने लगायत उल्लेख छ । साथै खोप लगाउने कामलाई व्यवस्थित बनाउन कुपन वितरण र खोप केन्द्रको संख्या बढाउन समेत अनुरोध गरेको छ ।

यसअघि वैदेशिक रोजगारमा जान चाहेका नेपाली युवाहरुले क्युआर कोड व्यवस्था नभएकोले विदेशमा रोजगार गुम्न लागेको भन्दै पटक-पटक बिभागको ध्यानाकर्षण गराउदै आएका थिए । दवाव कार्यक्रम अन्तर्गत युवाहरुले आजै स्वास्थ्य मन्त्रालयमा समेत यस सम्बन्धमा दवाव दिएका थिए । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न ‘क्यूआर कोड’सहितको प्रमाण पत्र माग्ने हुँदा उनीहरु काममा फर्कन नपाएको भन्दै भद्रकालीमा पर्दर्शन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *