पारस खड्काले अकस्मात अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुको भित्री कारण अर्कै !

साउन 19 काठमाडौं l नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत खड्काले सन्यास लिएको घोषणा गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’

‘२००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले लेखेका छन्।

नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए ।

पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुको मुख्य पाँच कारण यस प्रकार छन् ।

ढल्कँदो उमेर

पारसको उमेर विस्तारै ढल्किदै छ । उमेरले पारस ३४ वर्ष पुगे । कोरोनाका कारण यो वर्ष अष्ट्रेलियामा हुने भनिएको टि२० विश्वकप २०२२ मा सरेको छ । २०२२ मा हुनुपर्ने टि२० विश्वकप २०२१ मा हुँदैछ । २०२१ को विश्वकपको लागि नेपाल एसिया छनोटबाट खराब प्रदर्शन गर्दै बाहिरिएको थियो ।

वर्तमान अवस्थामा कुनैपनि खेलाडी सक्रिय रुपमा ३५–३६ वर्षको उमेरसम्म खेल्दै आएका छन् । त्यसपछि खेलाडीको उमेरको कारण फिटनेस र प्रदर्शनमा विस्तारै गिरावट आएको देखेका छौं । अर्को वर्ष ग्लोबल छनोटसम्म पारसको उमेर ३५ कट्नेछ । जसको कारण पनि पारसले सन्न्यास लिएका हुनसक्छ ।

युवा खेलाडीलाई मौका

पारसले सन्न्यास लिनुको अर्को कारण युवा खेलाडीलाई मौका दिनु हो । पारसले यो समय सन्न्यास दिँदा युवा खेलाडी २०२२ को ग्लोबल र २०२३ को एकदिवसिय विश्वकप छनोटको लागि तयार हुन्छन् । यी दुई प्रतियोगिता मुखैमा सन्न्यास लिनुभन्दा यस समयमा लिएमा युवा खेलाडीले बढी मौका पाउँछन् ।

खेलाडी एकै पटक स्टार बन्न सक्दैन । ठूला प्रतियोगतालाई खेलाडीमा खेलको अनुभव पनि धेरै हुनुपर्छ । खेलाडी जतिधेरै खेल खेल्दै जान्छन् त्यतिनै निखारिंदै जान्छन् । पारसले अहिले सन्न्यास लिँदा युवा खेलाडी तयार हुने मौका पाउँछन् ।

गत त्रिकोणात्मक टि२० आई सिरिजमा पारस विनानै नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । जसमा युवा खेलाडीको प्रदर्शन उत्कृष्ट थियो । युवा खेलाडीले नयाँ उत्साह, आशा र सम्भावना देखाएका छन् । जसको कारण पारसले अहिलेनै सन्न्यास लिन उपयुक्त ठानेका हुन् ।

क्यानसँग तितो सम्बन्ध

वर्तमान क्यानसँग पारसको सम्बन्ध राम्रो छैन । अध्यक्ष चतुरबहादुर चन्द सहित क्यानमा प्रमुख पदाधिकारीसँग पारसको बोलचाल नै छैन । क्यानको केन्द्रिय समितिमा छुम्बि लामालाई छाड्ने हो भने अन्यसँग पारसको निकै खराब सम्बन्ध छ । सम्बन्ध राम्रो नहुँदा काम गर्न कठिन प्रत्यक्ष अप्रत्यक्ष रुपमा कठिन पर्छनै ।

२०७६ असोज निर्वाचनमा चतुरबहादुर प्यानलनै विजयी भएपछि पारसले कप्तानी छाडेका थिए । आइसिसीले क्यानमाथि लगाएको निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै पारसले असोज २७ मा कप्तानी पदबाट राजीनामा दिएका थिए । २०१४ देखिनै सुरु भएको आन्तरिक विवादले झन पछि झन इगो रुप लिँदा ब्रिगिएको थियो ।

आफूहरुलाई अख्तियार सम्म पुर्याएको र क्यान निलम्बन हुनु परेको भन्दै पारसप्रति त्यति राम्रो सकरात्मक नजर भने क्यानका पदाधिकारीसँग पनि छैन । पारसले मंगलबार विहान नै आफूले अब नेपालबाट नखेल्ने क्यानलाई पनि जानकारी दिइसकेका छन् । क्यानसँग बिग्रिदो सम्बन्धको कारण पारसले सन्न्यास लिन पुगेका हुन् । पारसको क्यानमा सम्बन्ध राम्रो भएको यतिचाँडो सन्न्यास भने पक्का लिने थिएनन् ।

क्यान नेतृत्वको तीव्र ईच्छा

पारस खुलेआम रुपमानै खेलाडी जीवनपछि क्यान नेतृत्वमा जाने बताउँदै आएका छन् । पारस अब खेलाडी भन्दापनि क्यान नेतृत्वको रुपमा काम गर्दै नेपाली क्रिकेट विकास गर्न चाहन्छन् । आफूहरु खेलेर मात्र क्रिकेट विकास नहुने र क्यानले पनि त्यहि अनुसार काम गर्नुपर्ने पारसले लगातार बताउँदै आएका छन् ।

क्यान पदाधिकारी बन्न जिल्ला प्रदेश हुँदै केन्द्रमा जानुपर्छ । त्यस तयारीको लागि पारसले सन्न्यास दिएका हुन् । खेलाडीसँगै क्यानको राजनीति गर्न मिल्दैन । खेलाडीबाट सन्न्यास लिएपछि उनलाई राजनीतिमा लाग्न बाटो खुल्छ । आफ्नो गुटलाई बलियो बनाउन सक्छन् ।

क्यान विधानले बाध्यता

पारसले सन्न्यास लिनुको मुख्य कारण क्यानको वर्तमान विधान हो । पारस क्यान नेतृत्वमा जान जान्छन् । त्यो सबैलाई थाहा भएको कुरा हो । तर विधान अनुसार कुनैपनि खेलाडी क्यान निर्वाचन हुँदै पदमा पुग्न सक्रिय खेलाडी जीवनबाट दुई वर्ष पहिला सन्न्यास लिई सकेको हुनुपर्छ । अर्थात खेलाडी जीवन दुई वर्षअघिनै छाडेको हुनुपर्छ ।

असोजमा क्यान नेतृत्वको दुई वर्ष पुग्दैछ । त्यसको दुई वर्षपछि पारस क्यान नेतृत्वमा आउन अहिलेनै खेलाडीबाट सन्न्यास लिइसकेको हुनुपर्छ । जसले गर्दा पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् । अब पारस क्यानमा प्रवेश गर्न आफ्नो उपस्थिति बलियो बनाउन खुलेआम तयारीमा लाग्न पाउनेछन् । जिल्ला र प्रदेश क्रिकेट राजीतिमा पारस अब बढी सक्रिय हुने निश्चित छ ।

प्रदेश १ मा पारस केहि निकट छन् । अन्य प्रदेशमा ठूलो युद्धनै लड्नुपर्ने अवस्था छ । जसको कारण पारसले अहिले देखिनै तयारीमा लागेका हुन् । क्यान नेतृत्वले काम गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको छ । यो अवस्थामा पारस नयाँ आशाका किरण जगाउन चाहन्छन् । पारस क्यानमा जादै नेपाली क्रिकेटको युद्ध स्तरमा विकास गर्न चाहन्छन् । क्यान विधानको कारण उनले सन्न्यास लिनु पर्ने बाध्यता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *