प्रचण्डको ‘प्लान’ फेल, बाबुराम भट्टराईले प्रचण्डको मुखै अगाडि लगाइदिए धक्का !

असोज २१ काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आगामी चुनावलाई लिएर चिन्तित छन् ।
प्रत्यक्ष निर्वाचन जित्न सकिँदैन भन्ने डरले प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा पनि गरिरहेका छन् । तर तत्कालै निर्वाचन प्रणाली फेर्न सम्भव नभएकाले उनले माओवादीबाट विभाजित सबै घटकलाई एकतावद्ध गर्ने ‘प्लान’ समेत बनाएका छन् । तर प्रचण्डको यो प्लान फेल भएको छ ।
images
गत शुक्रवार कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र बिसर्जित गर्ने षड्यन्त्र भइरहेको भन्दै पूर्व माओवादीहरु एकठाउँमा उभिनुपर्ने तर्क गरे ।
प्रचण्डले भने, ‘अहिले जसरी माओवादी जनयुद्धलाई विद्रुपीकरण गर्ने, त्यसलाई भ्रष्टीकरण गर्ने, माओवादी आन्दोलनलाई विखण्डित र बिसर्जित गर्ने षड्यन्त्रहरु तीव्र भइराखेका छन् अहिले पनि । त्यसका विरुद्ध एक हुने उपायहरुको खोजी गर्नु बुद्धिमानी हुन्छ । अहिलेको बुद्धिमानी त्यो चाहिँ हो । अहिलेको मार्क्सवाद त्यही हो । हामी हिजो सँगै लडाइँ लडेका र यसलाई विद्रुपीकरण गर्ने, यसलाई भ्रष्टिकरण गर्ने, यसलाई विखण्डित गर्ने, यसलाई बिसर्जित गर्न चाहने प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो । एकताको खोजी गरौं हामी सबैले । त्यसको खोजी आत्मसमीक्षाबाट सुरू हुन्छ ।’
तर कार्यक्रममै सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डलाई धक्का लगाइदिए । भट्टराईले पूर्व माओवादी एकैठाउँमा आउने कुरा भावनात्मक मात्रै भएको जवाफ दिए ।
भट्टराईले पूर्व माओवादी एकठाउँमा आउनेभन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको बताएका छन् ।
भट्टराईले भने, ‘भावनाको हदसम्म साथीहरुले भनेको कुरा सही छ तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्यो । विवेकसँग ज्ञानमा पनि बदल्नुपर्यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौं । अनि त्यसको आधारमा हामी मात्रै भएर मात्रै पनि त पुग्दैन । नयाँ जनसंख्या आयो, तिनलाई समेट्नु परेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरि नयाँ ढंगले चाहिँ हामी अगाडि बढौं । सबै पूर्व माओवादी एकैठाउँ आउँ भन्ने होइन, सबै पूर्व माओवादीहरू नयाँ ठाउँमा जाऊँ भन्नुपर्यो क्या ! नयाँ ठाउँमा गएपछि त्यसले चाहिँ यो देशको मात्रै होइन, विश्व मानव जातिकै निम्ति योगदान गर्नसक्छ ।’