फिलामेन्ट स्वयंसेवक समूह नेपालद्धारा राहत वितरण

काठमाडौं । फिलामेन्ट स्वयंसेवक समूह नेपालले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १० आकाशेधारामा आज पनि राहत वितरण गरेको छ । कोरोना भाइरसका कारण समस्यामा परेर दैनिकी चलाउन असहज भएका नागरिकलाई फिलामेन्टले राहत बाँडेको हो । निषेधाज्ञाको कारण दैनिक ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवार बढी प्रभावित भएका छन् ।

संस्थाले ‘हुनेले दिने र नहुनेले लिने’ अभियान अन्तर्गत केही दिनदेखि राहत वितरण गर्दै आएको समाजसेवी एवम् अभियन्ता अक्कल बहादुर तामाङले जनाए ।अभियानले अहिलेसम्म झण्डै २ सय परिवारलाई राहत वितरण गरिसकेको छ । ‘हाम्रो संस्था सामाजिक हकहितमा काम गर्ने भएकाले यो बेला केही गर्नुपर्छ भनेर सक्रियता देखाएका हौं’ तामाङले भने ‘सरकार, सम्वन्धित सरोकारवाला र यस्तै प्रकारका सामाजिक संघसंस्थाको सहकार्यमा नागरिकलाई आइपरेको समस्याबाट मुक्ति दिलाउनुपर्छ ।’

अक्कलबहादुर तामाङले अभियानलाई निरन्तर रुपमा सक्रिय बनाउन समाजसेवी जगत बहादुर तामाङले गर्दै आएको सहयोगको प्रशंसा गरेका छन् । समाजसेवी जगतबहादुर तामाङले आफ्नो तर्फबाट निःशुल्क रुपमा खाद्यान्न सहयोग गर्दै आएका छन् । जगतबहादुरले अभियानलाई ६६ हजार रुपिँया सहयोग जुटाइदिइसकेका छन् ।

अक्कलले अभियानमा निःस्वार्थ रुपमा धेरै सहयोगी दाताको पनि उत्तिकै भूमिका रहेको स्पष्ट पारेका छन् । उनले अभियानमा सहयोग गर्नेहरुलाई हार्दिक सम्मान व्यक्त गरेका छन् ।अभियानलाई सहयोग गर्न चाहनुहुने दाताहरुले कृष्णमाया तामाङ ९८५११५१८१६ र सुदर्शन वस्नेतलाई ९८४१४४३०३९ मा सम्पर्क गर्न सकिने पनि अभियानले जनाएको छ । यो असहज अवस्थामा कसैको दैनिकी समस्यामा परेको भए माथिका नम्वरमा सम्पर्क गर्न पनि अभियानले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *