अग्रज सहकारी अभियान्ता बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित

काठमाडौं- नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व, सहकारी अभियान्ता दिपक प्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित भएका छन् । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार आयोजित विशेष समारोहमा उनलाई सम्मान गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले नगद पचास हजार सहित दोसल्ला ओडाई बाँस्कोटालाई सम्मानित गरेका हुन । ६४ औं राष्ट्रिय सहकारी दिवस (चैत २०)को अवसरमा राष्ट्रिय सहकारी महासंघ, नेपालले उनलाई सो राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको थियो ।

बाँस्कोटाले नेपालको सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ । सहकारी ऐन–२०४८ र नियमावली निर्माण उनैको नेतृत्वमा भएको थियो । समुदायको सामाजिक आर्थिक विकासमा सहकारी जस्तो शसक्त माध्यम नभएको निष्कर्ष विदेश भ्रमणबाट निकालेपछि राजनीतिलाई अल्पविराम दिएर उनले जनतासँग प्रत्यक्ष जोडिएको सहकारी अभियानमा पूर्णत होमिएका थिए । उर्जा र शिक्षा सँगालेका युवा अनि नवीन र पहुँचयोग्य प्रविधिको उपलब्धताले सहकारीलाई समाजवादको सारथी बनाउन सकिने उनको भनाई छ ।

बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष हुन । उनी सहकारी प्रारुपमा पाँचथरमा सञ्चालित कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष, महर्षि फाउन्डेशनका अध्यक्ष लगायत अन्य केही उद्योग व्यवसाय र सामाजिक संघ संस्थाहरुमा प्रत्यक्षपरोक्ष संलग्न छन् । उनी हाल सहकारीबाट सञ्चालित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको पनि अध्यक्ष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *