काठमाडौं उपत्यकामा कस्तो होला त असार २१ पछिको निषेधाज्ञा ?

काठमाडौं । काठमाडौं उपत्यकामा असार २१ गतेपछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइने भएको छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा संक्रमणदर नघटेकाले निषेधाज्ञालाई नै निरन्तरता दिइने जनाइएको छ ।

काठमाडौं उपत्यकामा संक्रमणदर हेर्दै निषेधाज्ञा चरणवद्ध रुपमा खुकुलो हुँदै आए पनि पूर्ण रुपमा सबै सेवा सञ्चालनमा आइसकेका छैनन् । उपत्यकामा २५ सिटभन्दा माथिका सवारीसाधनमा जोरबिजोर लागु गरेयता चहलपहल बढेको छ । सबै किसिमका पसल, व्यापार, व्यवसायहरु सञ्चालनमा आइसकेका छन् । तर लामो दूरी र कम सिट क्षमताका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । विद्यालय, मठमन्दिर, पार्टिप्यालेस, सिनेमा हल, जिमखाना लगायतका क्षेत्र भने सञ्चालनमा आएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली अब थपिने निषेधाज्ञामा यी क्षेत्रमा पहिलेकै नियम कायम रहन सक्ने सम्भावना रहेको बताउँछन् । ‘‘तुलनात्मक रुपमा संक्रमणदर घटेन । संक्रमण बढ्न सक्ने जोखिम पनि कायमै छ । यसको छलफल हुनै बाँकी छ । यसबारे सम्बन्धित सरोकारवाला निकायसँग आज छलफल गर्नेछौँ । एकसाता १० दिन अझै निषेधाज्ञा थपिनेछ । त्यसपछि थप निर्णय लिइनेछ ।”

२५ सिट क्षमताभन्दा तलका सार्वजनिक सवारी साधन पनि २१ गतेपछि चलाउनुपर्ने माग यातायात व्यवसायीको छ । १७ गते बिहीबार यातायात व्यवसायीहरुले संयुक्त रुपमा प्रशासनले २१ पछि सबै खाले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिए निर्णय अवज्ञा गरी सवारी चलाउने चेतावनी दिएका छन् । २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा सञ्चालनमा आएका छन् ।

अझ पछिल्लो समय यातायात व्यवसायी र मजदुरहरुले २५ सिटभन्दा माथिका सवारी साधनमा लगाइएको जोर बिजोर पनि हटाउनुपर्ने माग गर्दै आएका छन् । यसभन्दा पहिले व्यवसायीहरुले निर्णय नसच्याए १८ गतेदेखि सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए । पछि २१ गतेसम्मका लागि प्रशासनको निर्णय मान्ने भनी व्यवसायी सहमत भएका छन् । यस विषयमा प्रजिअ पराजुली भन्छन्, ‘‘यातायात व्यवसायीको मागको विषयमा निरन्तर छलफल भइरहेको छ । ध्यान पनि गएको छ । तर, खुलाउनेबारे कुनै टुंगो लागेको छैन ।”

थप गरिने निषेधाज्ञामा कस्ता प्रावधानहरुमा खुकुलो गर्ने भन्नेबारे आज छलफल हुनेछ । कोरोना महामारीसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल गरि प्रशासनले थप निर्णय गर्दै आएको छ । आज सरोकारवाला निकायसँगको छलफलपछि तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरुको बैठक बस्दैछ । यद्यपि, छलफल नटुंगिए भोलि निर्णय निकालिने प्रशासनका अधिकारीको भनाइ छ ।

दोस्रो लहरको कोरोना महामारीको चेन बे्रक गर्नभन्दै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । त्यतिखेर सञ्चालन भइरहेका स्नातक तहका परीक्षा पनि रोकिएका थिए । उक्त परिक्षा पनि साउनको पहिलो साता सञ्चालन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि सोमबार २१ गते राति १२ बजे सकिँदैछ । लामो समयसम्म निषेधाज्ञा जारी राख्दा सबैजसो क्षेत्र प्रभावित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *