भेरोसेललाई खाडी मुलुकले मान्यता नदिएपछी खाडी मुलुक जाने नेपालीलाई तनाव !

Medianewskhabar//काठमाडौ शरणार्थीलाई एक डोज लगाउँदा पुग्ने जोन्सन एण्ड जोनसनको र विदेशमा काम गर्ने नेपालीलाई चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको व्यापक आलोचना हुन थालेको छ ।

सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र श /र णा र्थीका लागि जोन्सनको खोप दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयले हजारौँ नेपाली विदेशको रोजगारी गुमाउने अवस्थामा पुगेका छन् ।

यसरी श्रमिक अ प्ठेरोमा पर्ने दुई कारण छन् । पहिलो, नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदी जस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सनले मात्र मान्यता पाएका छन् ।

दोस्रो, भेरोसेल खोपको दुई मात्रा लगाउन श्रमिकले कम्तीमा २१ दिनदेखि एक महिनासम्म कुर्नुपर्छ र खोप कुर्दा रोजगारी गुम्ने खतरा छ । जोन्सन एण्ड जोन्सनको खोप एक डोजको हो र यो खोप लगाएपछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउँछन् ।

विज्ञ भन्छन् गरिब श्रमिकको आवाज सरकारले सुनेन
वैदेशिक रोजगारीमा तत्कालै जानुपर्ने श्रमिकलाई भेरोसेल खोप पाउनेको सूचीमा राख्नु भनेको गरिब श्रमिकलाई सिंहदरबारले गरेको उपेक्षा हो भन्नुहुन्छ श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङ ।

‘वैदेशिक रोजगारीमा तत्काल पुग्नु पर्ने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप नदिएर दुई मात्रा लगाउनु पर्ने खोप दिन्छु भन्नु र त्यो पनि गन्तव्य देशले मान्यता नदिएको खोप लगाउनु उनीहरूमाथिको भद्दा मजाक हो, त्यसको कुनै अर्थ छैन’ डा. गुरुङले भन्नुभयो । खोपको राजनीतिमा नेपालका धनी र हुने खाने मात्र परेको र रोजगारीका लागि विदेश जाने दूर दराजका युवाहरूको समस्या सरकारको आँखाले नदेखेका कारण श्रमिकहरूले रोजगारी गुमाउने जोखिम बढेको उहाँले बताउनुभयो ।

धेरै गन्तव्य देशमा भेरोसेल अमान्य छ
साउदीले आफूले मान्यता दिएको बाहेक अरू खोपलाई स्वीकार नगरेको साउदीस्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिनुभयो । साउदीले अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेक र जोनसन एण्ड जोनसनको खोपलाई मात्र मान्यता दिएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार साउदी जानुअघि नै श्रमिकहरूले अनलाइनमार्फत आफूले खोप लगाए नलगाएको जानकारी दिन अनलाइन फारम भर्नुपर्छ । त्यो अनलाइन फारममा साउदीले मान्यता दिएको बाहेक अन्य खोप लगाएको विवरण भर्न मिल्दैन । साउदीले भेरोसेल खोपलाई मान्यता दिएको छैन ।

‘साउदीले अहिले चार ओटा खोपलाई मात्र मान्यता दिएको छ, यी चारभन्दा बाहेक अरू खोप लगाएको भए यहाँ आएपछि क्वरेण्टीन अनिवार्य छ’ सूचना अधिकारी आचार्यले भन्नुभयो । कतारले पनि फाइजर, मोर्डना, अस्फोर्ड अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपलाई मात्र मान्यता दिएको छ । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजका अनुसार भेरोसेल खोप लगाएर गए पनि श्रमिकहरूले कतार पुगेपछि १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेखाइनिस क्वरेण्टीनमा बस्न पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *